समलिंगी तेश्रोलिंगीको जिन्दगीसँग जोडिएको मुद्धामा खेलवाड नगर्न आग्रह

काठमाडौं (पहिचान) फागुन २९ -नील हिरा समाजको कार्यवहाक कार्यकारी निर्देशकको जिम्मेवारी मनिषा ढकालले सम्हालेकी छिन । लामो समयदेखि समाजको उपकार्यकारी निर्देशक रहेकी ढकालले अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेकी हुन् । समाजका कार्यकारी निर्देशक सुदीपवहादुर सिंहले पदबाट राजिनामा दिएपछि ढकालले कार्यवहाकको जिम्मेवारी पाएकी हुन् । सिंहले एक महिना अगाडि कार्यकारी निर्देशकको पदबाट राजिनामा दिएका थिए । कार्यवाहक कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछि ढकालले आफूमा जिम्मेवारी बढेको अनुभव भएको बताइन ।

ढकालले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता पूर्व सभासद् सुनिलवावु पन्त नोवेल शान्ति पुरस्कारका लागि मनोनयनमा पर्नु समलिंगी तेश्रोलिंगीका लागि मात्रै नभएर नेपालकै लागि गर्वको विषय भएको बताइन । यसले आफूहरुमा उत्साह र उर्जा थपेको ढकालको भनाई छ । कार्यवाहक कार्यकारी निर्देशक ढकालले यसलाई अव अधिकार प्राप्तीकै अभियानमा ढाल्नु पर्ने बताइन ।
समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियान नेपालमा विजारोपण पन्तकै कारण भएको ढकालले बताइन । ढकालले नोवेल पुरस्कारबाट पन्त सम्मानित हुनु पर्छ भन्ने आफूहरुलाई लागेको बताइन । पन्त मनोनयनमा पर्नुनै ठूलो कुरा भएको बताउँदै पन्त जस्तो अभियन्ताको आवश्यकता नेपालका लागि मात्रै नभएर अन्तराष्ट्रिय स्तरमै रहेको ढकालको भनाई छ । ढकालले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्ती अभियान सफल नभएसम्म पन्तको आवश्यकता परिरहेको बताइन । कार्यवाहक कार्यकारी निर्देशक ढकालले समलिंगी तेश्रोलिंगीको मुद्धा समलिंगी तेश्रोलिंगीले मात्रै उठाउनु पर्छ भन्ने मानसिकताको अन्त्य हुनुपर्नेमा जोड दिइन ।
नील हिरा समाजको अवको अभियान
कार्यवाहक कार्यकारी निर्देशक मनिषा ढकालले संविधानसभामा दलहरुको सिफारिसमा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरिन् । आफूलाई क्रान्तिकारी, लोकतान्त्रिक भन्ने दलहरुले समानुपातिक तर्फबाट एक जना पनि समलिंगी तेश्रोलिंगीलाई प्रतिनिधित्व नगराएकोमा दुख लागेको ढकालको भनाई छ । ढकालले संविधानमा समलिंगी तेश्रोलिंगीको अधिकार नलेखिए दलहरुकै लागि नराम्रो हुने बताइन । ठुल ठुला आश्वास दिएर चुनावमा मत मागेपनि अहिले एक जना पनि समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा प्रतिनिधित्व नगराउनु दुख एवं दलहरुकै लागि लाजमर्दो विषय भएको ढकालको भनाई छ ।
कार्यवाहक कार्यकारी निर्देशक ढकालले आफूलाई लोकतान्त्रिक, क्रान्तिकारी भन्ने दलहरुले समावेशीको कुरा उठाउनु खोक्रो नारा जस्तो मात्रै टिप्पणी गरिन् । अहिले पनि नील हिरा समाजले विभिन्न राजनीतिक दलमा गएर संविधान सभामा प्रतिनिधित्व हुनुपर्छ भनेर छलफल गरिरहेको जानकारी ढकालले दिइन । ढकालले संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व नगराए दलहरुलाईनै आक्षेप लाग्ने बताइन । दलहरु कतिको समावेशी छन् ? कतिको क्रान्तिकारी छन् ? आफूलाई ठूलो र लोकतान्त्रिक पूरानो इतिहास बनाएको पार्टी हो भन्दै आएका दलहरुले संविधान सभामा प्रतिनिधित्व नगराए इतिहासले तिनै दललाई प्रश्न गर्ने ढकालको भनाई छ ।
दलहरुबीचको भागबण्डा, खिचातानी र अस्वस्थ राजनीतिक प्रतिपष्र्धाकाका कारण यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको मुद्धा ओझेलमा परेको ढकालको बुझाई छ । दलहरुको सिफारिसमा मन्त्रीपरिषद्ले मनोनयन गर्ने २६  जनामा पर्नका लागि पहल गरिरहेको बताउँदै संविधानसभामा आफ्नो समूदायको प्रतिनिधित्व हुने आशा गरेको बताइन ।  संविधान सभामा प्रतिनिधित्वसँगै स्थानीय निकायको चुनावमा समलिंगी तेश्रोलिंगीलाई अनिवार्य उम्मेदवार बनाउन माग गरिरहेको जानकारी ढकालले दिइन ।
गाविस, जिल्ला, नगरपालिकामा हुने स्थानीय चुनावमा समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार बनाउन माग गरिरहेको बताउँदै ढकालले स्थानीय स्तर देखि पहुँच बनाएको खण्डमा राष्ट्रिय स्तरमा प्रभाव पर्ने बताइन । दोश्रो संविधान सभाको चुनावमा राजनीतिक दलहरुले चुनावी घोषणपत्रमा समलिंगी तेश्रोलिंगीको विषय समावेश गर्नु उपलव्धीकै रुपमा लिइएको बताउँदै ढकालले संविधान सभामा प्रतिनिधित्व र स्थानीय निकायको चुनावमा समलिंगी तेश्रोलिंगीको उम्मेदवारीमा नील हिरा समाजको अभियान केन्द्रीत रहने बताइन ।
नील हिरा समाजको स्थापनादेखि अहिलेसम्म
समाजकी कार्यवाहक कार्यकारी निर्देशक ढकालले पहिला लुकेर बसेका यौनिक तथा लैगिंक अल्पसंख्क समूदाय अहिले सशक्त रुपमा खुलेर आउन सफल भएको बताइन् । सन् २००१ मा स्थापना भएको नील हिरा समाजका ५३ वटा शहरमा शाखा कार्यालय रहेको र समलिंगी तेश्रोलिंगीको शिक्षा, स्वास्थ्य रोजगार, बृत्ति विकास एवं मानवअधिकारको विषयमा जोडदार आवाज उठाइरहेको ढकालले बताइन ।
डर, संकोज हटेको छ ढकालले भनिन, संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अनुभुती भइरहेको छ । समाजमा खुल्ने वातावरण बनाउने कामसँगै कानुनी अधिकार प्राप्तीको अभियान पनि संचालन भइरहेको ढकालको भनाई छ । सर्वोच्च अदालतले २०६४ पुष ६ गते यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसारको नागरिकता दिन र समलिंगी विवाहलाई मान्यता दिने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन सरकारका नाममा निर्देशनात्मक आदेश दिएपनि कार्यान्वयन नहुनु भने दुखद भएको ढकालको गुनासो छ ।
सरकारको कार्यान्वयन पक्ष एकदमै फितलो भएको ढकालको भनाई छ । पहिलो संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिधित्वि गर्ने सुनिलवावु पन्त विश्व प्रसिद्ध नोवेल शान्ति पुरस्कारको मनोनयनमा पर्नु नील हिरा समाज समलिंगी तेश्रोलिंगीको मात्रै नभएर नेपालकै लागि महत्वपूर्ण उपलव्धी भएको ढकालले बताइन । समाजको अभियानकै कारण शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले कक्षा, ६, ७ र ८ को स्वास्थ्य तथा शारीरिक शिक्षामा समलिंगी तेश्रोलिंगीको विषय समावेश हुनु अर्को उपलव्धी भएको ढकालको भनाई छ । ढकालले नेपालको समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियान स्थानीय तह देखि केन्द्रसम्म र अन्तराष्ट्रिय स्तरसम्म पुग्नु खुशीको कुरा भएको बताइन ।
नील हिरा समाजका चुनौती
समाजकी कार्यवाहक कार्यकारी निर्देशक ढाकालले नेपालमा नीति कानुन बन्ने तर कार्यान्वयन नहुने समस्याले समलिंगी तेश्रोलिंगी पीडामा जीवन विताउन बाध्य भएको बताइन । नेपाली नागरिक भएको पहिचान दिन कानुन बन्छ तर नागरिकता दिने निकाय कानमा तेल हालेर बसिरहन्छ ढकालले भनिन्, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ, समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्त र तेश्रोलिंगी आनिक रानाले पहिचान अनुसारको नागरिकता नदिने जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्धा दायर गर्नु भएको छ ।
नील हिरा समाजको स्थापना देखि अहिलेसम्म प्राप्त उपलव्धीको रक्षा गर्दै चुनौतीको सामना गर्दै आइरहेको ढकालको भनाई छ । कोही बुझ्नै नचाहने छन,् कोही बुझेर बुझ पचाउने पनि छन् ढकालले भनिन्, यौनको कुरा उठाउन लाज मान्नेहरु नीति निर्माणमा रहेकाले कार्यान्वयन भइरहेको छैन । उनले मिडियाको सहयोगको लिएर परिवर्तन ल्याउने प्रयास भइरहेको जानकारी दिइन । अमेरिका युरोपमा कानुन बनेपनि त्यहाँ अझै विभेद छ ढकालले भनिन् ः हाम्रो देशमा समलिंगी तेश्रोलिंगी माथि हुँदै आएको विभेद अन्त्यका लागि समाज र व्यक्तीको सोचमा परिवर्तन हुनुपर्छ ।
यस्तै ढकालले छिट्टै नै पहिचान अनुसारको पासपोर्ट पाउन सकिने आश्वासन राहदनी विभागबाट पाएपनि प्राप्त भने नभएको जानकारी दिइन । यस्तै शिक्षामा सरकारले जिम्मा लिनु पर्ने बताउँदै ढकालले समलिंगी तेश्रोलिंगी मैत्री शिक्षा नीति बनाउन सरकारसँग माग गरिन । हामीमा पनि क्षमता छ, क्षमता देखाउने अवसर नपाएर मात्रै हो ढकालले भनिन ः समलिंगी तेश्रोलिंगी मैत्री विद्यालय बनाउनु पर्छ । नीतिनै बनेमा त्यसमा शिक्षक शिक्षिका पनि बाधिन्छन् । उनले थाइल्याण्डमा कानुन नबने पनि समाजले स्वीकार गरेको बताउँदै नेपालमा कानुन भएर पनि दुरव्यवहारमा पर्नु परेको बताइन । थाइल्याण्डमा तेश्रोलिंगीले काम गरिरहेका छन् आयआर्जन गरिरहेका छन् ढकालले भनिन् ः नेपालमा कानुनी परिवर्तन भएपनि समाजिक विभेद छ । उनले शिक्षा, स्वास्थ्य रोजगार लगायतमा समलिंगी तेश्रोलिंगी माथि हुँदै आएको विभेद अन्त्यका लागि निरन्तर सघर्ष गरिरहने बताइन  ।
यौनिक तथा लैगिंक अल्पसंख्यकको स्वास्थ्य
नील हिरा समाजकी कार्यवाहक कार्यकारी निर्देशक मनिषा ढकालले एचआइभी एड्समा धेरै कुरा भएका भए एचआइभी एड्सले मात्रै स्वास्थ्यको मापन नगर्ने बताइन । ढकालले समलिंगी तेश्रोलिंगीले स्वास्थ्यका धेरै समस्या भोगिरहेका बताउँदै स्वास्थ्यसंस्था समलिंगी तेश्रोलिंगी मैत्री हुनुपर्ने माग गरिन । समलिंगी तेश्रोंिलंगीले विभिन्न शारीरिक समस्या झेलिरहेको बताउँदै ढकालले नेपालमा तेश्रोलिंगीलाई स्वास्थ्य सेवा दिन छुट्टै विशेषज्ञ डाक्टर राख्नुपर्ने माग गरिन ।
युरोप र अमेरिकामा तेश्रोलिंगीलाई हेर्ने डाक्टरको संगठननै भएको तर नेपालमा अहिले सम्म त्यस्तो व्यवस्था नभएको ढकालको भनाई छ । नेपालमा लिंग परिवर्तनका लागि विशेषज्ञ हासिल गरेका डाक्टरनै नभएको ढकालले जानकारी दिइन । उनले तेश्रोलिंगीको स्वास्थ्यका लागि उपचार गर्न आउने डाक्टरलाई सरकारले प्रोत्साहन गर्नु पर्ने बताइन । कार्यवाहक कार्यकारी निर्देशक ढकालले समलिंगी तेश्रोलिंगीको आयआर्जनका लागि काम गर्नुपर्ने खाचो रहेको बताइन ।
आयआर्जनको कार्यक्रम कसरी गर्ने भन्नेमा चुनौती छ ढकालले भनिन् आयआर्जनका कार्यक्रम नहुँदा समलिंगी तेश्रोलिंगी यौन पेशामा लाग्न बाध्य भएका छन् । घर, परिवार, समाज, प्रहरी जताततैबाट समस्या भोग्नु रहर नभएर समलिंगी तेश्रोलिंगीको बाध्यता भएको ढकालको भनाई छ । समलिंगी तेश्रोलिंगीको जिन्दगीसँग जोडिएको मुद्धामा खेलवाड नगर्न र अधिकार प्राप्तीको अभियानमा सघाउन सबैलाई ढकालले आग्रह गरिन ।

By bluediamondsociety

Leave a comment